जनकपुरधाम, २५ कार्तिक । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जनगणनामा सही तथ्यांक लेखाउन प्रदेशवासीसँग आग्रह गरेका छन् ।

मुख्यमन्त्री राउतले अपील जारी गर्दै जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री राउतले जारी गरेको अपिलमा भनिएको छ,‘नेपालमा अहिले १२ औं राष्ट्रिय जनगणना सञ्चालन भइरहेको छ । जनगणना तथ्यांक संकलनको पहिलो चरण अन्तर्गत असोज १८ गतेसम्म तपाई हाम्रो घरदैलोमा आई घर तथा घरपरिवार सूचिकरण कार्य सम्पन्न गरेको हामी सबैलाई जानकारी नै छ । यसैगरी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु पारिवारिक र व्यक्तिगत विवरण लिन घरघरमा आउँदै हुनुहुन्छ । जनगणनामा गणकले सोधेका प्रश्नको सही उत्तर दिउ । तपाईले टिपाएका तथ्यांक गोप्य रहन्छन् । यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भंग गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनु पर्दैन ।

राज्यको पुनर्संरचनापछि अर्थात देशले संघीय शासन प्रणाली अंगाले पछिको यो पहिलो जनगणना हो । त्यस कारण पनि यस पटकको जनगणनाको खास महत्व छ । अझ प्रदेश भनेको संघियताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन । २०७२ सालमा संविधान जारी भए संगै प्रदेशहरुको स्थापना भए पनि हाम्रो आफ्नै तथ्यांक थिएन । २०६८ सालमा राज्यको पुरानो संरचना अन्तर्गत गरिएको जनगणनाका तथ्यांकलाई नै हामीले उपयोग गरेर यहाँ सम्म आइपुगेका छौ । तर यसपाली जनगणनाले नेपालमा पहिलो पटक प्रादेशिक मोडलमा आधारित जनसंख्या तथ्यांक उपलब्ध गराउनेछ जुन खुशीको कुरा हो ।

हाम्रो प्रदेशको जनसंख्या कति छ ? कुन कुन जातजातिका मानिहरूको बसोबास छ ? कुन धर्म र संस्कृतिका मानिसहरु कति छन ? कुन भाषा बोल्ने मानिसहरूको बाहुल्यता छ ? सामाजिक बहिष्करणमा परेका समुहहरु दलित, जनजाती, अल्पसंख्यक, लोपोन्मुख, महिला, अपांगता भएका व्यक्ति आदिको जनसंख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लङ्ग पार्दछ । जनगणनाबाट आउने यही तथ्यांकलाई आधार बनाएर सम्बन्धित जाती, धार्मिक समुदाय, महिला वा अपांगता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउदछ । त्यसैले आफूले टिपाएको सही तथ्यांकले आफ्नै लागि प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुनेछ भन्ने कुरा सबैले बुझनु पर्दछ । यस पटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको नगरेको, वडा तहसम्म सामुदायिक भवनहरूको अवस्था के कस्तो छ जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ ।

त्यसैले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरूलाई सही विवरण टिपाउँ । आफ्ना घरमा तथ्यांक संकलन गर्न आउने गणकलाई आत्मीय व्यवहार गरौं । उहाँहरुले सोधेका सबै प्रश्नहरु धैर्यता पूर्वक सुनेर सही जबाफ दिन प्रदेश सरकार सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गर्दछ । केन्द्रीय तथ्यांक विभागले यस जनगणनाको नारा ’मेरो गणना मेरो सहभागिता राखेको छ ।यो नारालाई सार्थक बनाउन सम्पूर्ण प्रदेशबासी दाजुभाइ दिदी बहिनीहरुले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्नु हुन प्रदेश सरकार पुनः सम्पूर्ण प्रदेशवासीलाई हार्दिक अनुरोध गर्दछु ।’