जनकपुरधाम, २५ कार्तिक । छठ पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

पर्वको चौथो दिन बिहीबार बिहान जनकपुरधाम लगायतका पोखरी तथा तालतलैयाहरुको छठ घाटहरूमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो पर्व सम्पन्न भएको हो ।

पोखरी नै पोखरीको शहरको रूपमा चिनिएको जनकपुरधामका पोखरीहरुमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लवहरुले टेन्ट र पण्डाल लगाएका थिए । जनकपुरधामको गंगासागर पोखरीका अतिरिक्त धनुषसागर, अंगराज सर, दशरथ तलाउ, जानकी सरोवरलाई स्थानीय युवा क्लबहरूले सजाएका थिए ।

मिथिलावासीका लागि प्रमुख पर्वहरुमध्ये यो पनि एक मानिन्छ । जसरी दिपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थीेको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहदै आएको मानिन्छ । गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरि यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउँछन् । जसले गर्दा समाजमा रहेका छुवाछुतजस्ता विकृति हटाउन सहायक सिद्ध हुने गर्दछ ।

अर्घ्य दिने ब्रतालु ३६ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यका साथ श्रद्धापूर्वक मनाइने गरिन्छ । पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व पहाडी समुदाय लगायत मुस्लिम समुदाय एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रुपमा अघि बढ्दै गएको छ ।

छठ पर्वमा बाँसको ढक्की, नाङ्लो माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ्य दिने व्रतालु ३ दिनसम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् ।

छठ पर्वमा सूर्य भगवान् अर्थात् दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । सोमबार बिहानबाट सुरु भएको यो पर्वमा व्रतालुले मङ्गलवार दिनभरि भोकै बसेर साँझ सख्खर हालेको खिर खाएका थिए । त्यसपछि उनीहरू बुधवार दिनभरि भोकै बसी अस्ताउँदो सूर्यलाई र  बिहीबार बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व सम्पन्न भएको छ ।

तस्बिरहरु: जनकपुरधाम र राजविराजका विभिन्न पोखरीका घाटहरूका छन् ।