जनकपुरधाम,२४ कार्तिक । धनुषामा बस दुर्घटनामा परी एक दर्जन व्यक्ति घाइते भएका छन् ।

बुधबार बिहान करिब पौने ८ बजे पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका वडा नम्बर-६ मालटोलमा बस अनियन्त्रित भएर २० फिट तल खसेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस अनियन्त्रित भइ सडकको दाहिनेपट्टी खस्दा बसमा आगलागी समेत भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

बसमा सवार यात्रुमध्ये एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा सुनसरीको धरान नगरपालिका वडा नम्बर-१६ बस्ने ४२ वर्षीया मुना सुवेदी, इटहरी नगरपालिका वडा नम्बर-४ बस्ने ३७ वर्षीया रेखा डाँगी, रुकुमको त्रिवेणी नगरपालिका वडा नम्बर-९ बस्ने ६० वर्षीय डाडाबिर डाङी, २८ वर्षीय कृष्ण बहादुर ओली, दाङको मुसुरे गाउँपालिका वडा नम्बर- ३ बस्ने २४ वषीय शिव कुमार चौधरी, सल्याणको बनगाङ कपिण्डे नगरपालिका वडा नम्बर-८ बस्ने २३ वर्षीय टिका डिसी रहेका छन् ।

त्यस्तै झापाको मेची नगरपालिका वडा नम्बर- १ बस्ने २८ वर्षीय कल्याण आचार्य, सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर-२ बस्ने ४१ वर्षीया शान्ति कार्की, मोरङको रङगेली नगरपालिका वडा नम्बर-८ बस्ने ३६ वर्षीया संजिता आचार्य, ३१ वषीर्या बालिका डिसी र प्युठानको माणडवी गाउँपालिका वडा नम्बर-२ बस्ने २४ वर्षीय केशव घर्ती मगर समेत घाइते भएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

घाइतेहरुको उपचार लालगढस्थित मोडेल अस्पताल र पुष्पवलपुरस्थित अस्पतालमा भइरहेको धनुषा प्रहरीले जनाएको छ ।