काठमाडौं, २३ कार्तिक । सरकारले तीन वटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा प्रदेशको प्रदेश प्रमुखलाई परिवर्तन गर्ने निर्णय गरिएको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ ।

कर्णाली प्रदेशको लागि सिफारीस भएका प्रदेश प्रमुख परियार प्रदेश २ का पूर्व प्रदेश प्रमुख हुन् । उनलाई केपी शर्मा ओलीको सरकारले प्रजातन्त्र दिवसकै दिन पदमुक्त गरेका थिए ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।