छठ पर्व जनकपुरधामका युवा क्लवहरुका लागि कमाई खाने भाँडो !

जनकपुरधाम, २३ कार्तिक । जनकपुरधामका केहि युवा क्लवहरुका लागि छठ पर्व कमाई खाने भाँडो बनेको छ । छठ पर्वका लागि घाटमा गरिएको सरसजावट वापत यहाँका केहि युवा क्लवहरुले लाखौँ रुपैया असुल गरिरहेका छन् ।
जनकपुरधाममा अवस्थित दर्जनौं पोखरीहरुको व्यवस्थापन दर्जनौं युवा क्लवहरु गर्ने गरेका छन् । तर ती क्लवहरुले मनोमानी ढंगले घाटको सरसजावटको नाममा लाखौं रकम उठाउने गरेको समेत देखिन्छ ।
जनकपुरधामको प्रसिद्ध पोखरी गंगासागरमा श्री गंगासागर छठ पूजा व्यवस्थापन समिति, बजरंग युवा क्लव, जनक युवा क्लवहरुको सहभागिता रहेको छ । गंगासागर छठ पूजा व्यवस्थापन समितिले यस बर्ष प्रतिघाट ५५१ रुपैयाँ शुल्क निर्धारण गरेको पूजा व्यवस्थापन समितिका एक पदाधिकारीले जानकारी दिए ।
सोमबारदेखि औपचारिक रुपमा सुरु भएको छठपर्वका लागि यसबर्ष गंगासागर घाटमा करिव साढे ८ सय घाटलाई सजाइएको उनले बताए । उनले यसबर्ष गंगासागर घाटलाई सजाउनका लागि करिव १ लाख ५० हजार रुपैयाँ खर्च लागेको बताए । उनले प्रत्येक घाटको सहयोग शुल्क ५५१ रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।
त्यस्तै अंगराज सरमा ११ सय घाट रहेको छ भने धनुष सागर पोखरीमा २ हजारभन्दा बढी घाट रहेको छ । धनुष सागर पोखरीको छठ पूजाको व्यवस्थापन गणेश युवा कमिटी, श्रीराम युवा कमिटीले गर्दै आएको छ भने अंगराज सरको व्यवस्थापन श्री मिथिला समाजसेवा समितिले गर्दै आईरहेको छ । अंगराज सरमा भने घाटको कुनै शुल्क लाग्दैन् ।
गणेश युवा कमिटीले घाटका लागि उठाउने शुल्कको सम्बन्धमा कमिटीका अध्यक्ष संतोष महतोले भने धनुषसागर पोखरीको घाटमा २ हजार ५ सय परिवार छठ पूजा गर्न आउँछन् । उनले यसबर्ष कमिटीले प्रतिघाट ३ सय रुपैयाँ शुल्क निर्धारण गरेको जानकारी दिए । छठ पर्वको व्यवस्थापनमा पण्डाल, लाइट तथा साउण्डमा मात्र प्रतिवर्ष ३ लाख रुपैयाँसम्म खर्च हुने गरेको अध्यक्ष महतोले बताए ।
स्थानीय विन्दु ठाकुरले भनिन,‘युवा क्लवहरुले पोखरीको घाटहरुमा झिलिमिली बत्ती लगाएवापत गतिलो पैसा उठाउँछन् । प्रत्येक परिवारसँग पैसा लिन्छन् । तर, उपमहानगरपालिका र वडा कार्यालय के हेरेर बसेको छ ? पोखरी गुठीको, विजुली विद्युत प्राधिकरणको अनि ब्रतालुसँग पैसा उठाउने युवा क्लब ?’
यस सम्बन्धमा सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष तथा प्रदेश सभा सदस्य रामअशिष यादवले छठ पूजाको व्यवस्थापन गर्ने युवा क्लवहरुले घाटको शुल्कवापत ठुलो रकम उठाएपनि छठ पछि पोखरीहरु फोहोर हुँदा त्यसको सरसफाइमा कुनै ध्यान नदिने गरेको आरोप लगाए ।