–महेश सिंह
सिरहा, २३ कार्तिक । सिरहाको लहान नगरपालिका–१५ बानो गाउँस्थित संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा सञ्चालित प्रथम गोल्डकप सोमबारदेखि सुरु भएको छ ।

पहिलो दिनको उद्घाटन खेलमा सिन्धुलीको दुधौली एकता फुटबल क्लबले लहान फुटबल क्लबलाई २–० अन्तरले पराजित गरेको छ ।समय अभावका कारण पहिलो दिनको खेल ४० मिनेटका लागि आयोजना गरिएको थियो । पहिलो २० मिनेटको हाफ र दोस्रो हाफमा दुधौली एकता क्लबको खेलाडीले गोल गरेका थिए ।

फाइनल खेलमा प्रथम हुनेलाई मेडलसहित ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई मेडलसहित ३० हजार रुपैयाँ पुरस्कार दिइने बानो फुटबल क्लबका अध्यक्ष आनन्द चौधरीले जानकारी दिए ।

खेलको उद्घाटन नेपाली काँग्रेसका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य पदमनारायण चौधरीले गरेका थिए । मन्तव्यको क्रममा चौधरीले कुलतबाट बचाउन युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्नुपर्ने बताएका थिए ।

समाजसेवी कर्माचार्यको कोरोनाकालमा गरिब विपन्न बस्तीमा राहत वितरण गर्ने क्रममा कोरोना संक्रमित भई मृत्यु भएको थियो । उनको समाजसेवाको सपना अनुसार मृत्यु भएको दिन हरेक महिना २२ गते प्रतिष्ठान मार्फत समाजसेवा कार्यलाई अगाडि बढाइएको प्रतिष्ठानका अध्यक्ष महेश चौधरीले जानकारी दिए ।

श्रीमति संगिता कर्माचार्यको सम्झनामा संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा खेलकुद प्रतियोगिताको आयोजना गरिएको समाजसेवी चौधरीले बताए । २०७८ जेठ २२ गते आफ्नो श्रीमती संगिता कर्माचार्यको कोरोनाको कारण अकालमा मृत्यु भएको सम्झना स्वरुप प्रत्येक महिनाको २२ गते सामाजिक काम गर्ने प्रतिबद्धता अनुरूप यस खेलकुद प्रतियोगिताको आयोजना गरेको र यस प्रतियोगितामा आफ्नो व्यक्तिगत तर्फबाट लाखौ खर्च भएको उनले सुनाए ।

उद्घाटन समहरोहमा समाजसेवी तथा नेपाली काँग्रेसका जिल्ला सदस्य महेश चौधरी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति अच्छ्मित लाल चौधरी , वडा न.१५ का वडाध्यक्ष तेजनारायण चौधरी, समाजसेवी बिरेन्द्र चौधरीलगायतको उपस्थिती रहेको थियो ।