प्रतिनिधिसभामा गरेको अवरोध अन्त्य गर्न गृहमन्त्री खाँणको आग्रह

जनकपुरधाम, २३ कार्तिक । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दलले प्रतिनिधिसभामा गरेको अवरोध अन्त्य गर्न आग्रह गरेका छन् ।
मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै खाँणले प्रतिपक्षी दलकै अवरोधका कारण प्रतिनिधिसभाको बैठक चल्न नसकेको बताए ।
प्रतिनिधिसभा जनताका गुनासा, समस्या लगायतका कुराहरु राख्ने जनप्रतिनिधिको थलो रहेकाले छलफल र संवाद मार्फत अवरोध हटाउन सरकार तयार रहेको उनले बताए ।
‘सरकार छलफल मार्फत गतिरोध अन्त्य गर्न तयार छ, गृहमन्त्री खाँणले भने, ‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, राजनीतिकरुपमा देखिएको गतिरोधलाई अन्त्य गरौँ ।’
राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको बताउँदै उनले राष्ट्रिय राजनीतिको मुलधारमा नआएका पार्टीहरुसँग सम्वाद तथा छलफल मार्फत राजनीतिक मुलधारमा ल्याउने काम समेत भईरहेको जिकिर गरे ।
सोमबार अबेर रातिसम्म चलेको प्रदेश सुरक्षा समितिको बैठकमा सुरक्षाको विषयमा आन्तरिक र बाहिरी चुनौती संवदेनशीलतालगायतका विषयमा छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिए । उनले भने,‘बाहिरी तथा आन्तरिक सुरक्षाका सवालमा केन्द्र, प्रदेश र स्थानीय तहसँग सुरक्षानिकायको समन्वय र सहकार्य हुनु आवश्यक छ ।’
गृहमन्त्री खाँणलाई मैथिली विकास कोषले एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ भने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले व्यवसायीहरुको सुरक्षा, समस्या र आवश्यकतालगायतका बिषयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।