-महेश सिंह
सिरहा,२३ कार्तिक । डिभिजन वन कार्यालय लहान र शव डिभिजन वन कार्यालय मिर्चैयाको संयुक्त गस्ती टोलीले ठुलो परिमाणको काठ बरामद गरेको छ ।

जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर-९ पुलिस पटा भन्ने चुरे वन क्षेत्रमा पर्ने वनभित्र लुकाई छिपाई राखेको करिब ५१ थान सखुवा जातको चिरानको काठ प्रहरीले बरामद गरेको हो ।

जम्दार भोगेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको गस्ती टोलीले गोप्य सूचनाको आधारमा डिभिजन वन कार्यालय लहान र शव डिभिजन वन कार्यालय मिर्चैयाको सशस्त्र रक्षकको गस्ती टोलीले संयुक्त रूपमा वन क्षेत्रमा गई अन्दाजी ५० के.बी. फिट सखुवा जातको चिरान काठ बरामद गरेको छ ।

हालको बजार मुल्य करिब २ लाख ५० हजार पर्ने काठ बरामद गरी डिभिजन वन कार्यालय लहानमा बुझाइएको जम्दार भोगेन्द्र प्रसाद यादवले जानकारी दिए ।

चुरेक्षेत्रको वनबाट अवैधरुपमा तस्करहरुले काठ ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलीले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए ।

वन रक्षकहरुलाई देखेपछि तस्कहरु काठ र साइकल छोडेर भागेको दासले बताए । दासका अुनसार सिरहा जिल्लामा साल काठ नहुदाँ छिमेकी जिल्ला उदयपुरबाट चोरी पैठारी गरी ल्याउने गरिएको छ ।

उनीहरूको साथबाट बरामद गरिएका काठको बजार भाउ २ लाख ५० हजार भन्दा बढि रहेको बताइएको छ । यस विषयमा आवश्यक अनुसन्धान भईरहेको डिभिजनल वन अधिकृत दासले बताए।

बरामद गरिएको काठ डिभिजन वन कार्यलय लहानमा राखिएको र थप अनुसन्धान भईरहेको जम्दार भोगेन्द्र प्रसाद यादवले जानकारी दिए ।