छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

जनकपुरधाम, २३ कार्तिक । मिथिलाञ्चल सहित तराई मधेशमा धुमधामसँग मनाइने सबभन्दा ठूलो पर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ ।
चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठको पहिलो दिन मंगलबार ब्रतालुहरुले ‘नहाय खाय’ विधि सम्पन्न गरेका थिए ।
परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन आज ब्रतालुहरुले साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्नेछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने चौथो दिन विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
यस वर्ष छठ पर्वको मुख्य दिन बुधबार परेको छ । बुधबार अस्ताउँदो र बिहीबार उदाउँदो सूर्याको अर्घ दिएर छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ दिने ब्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई सृंगारिने काम पनि सम्पन्न भइसकेको छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाएर झकिझकाउ बनाइएको छ ।
अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीतले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ ।