नगरप्रमुख साहले निमित्त प्रमुख यादवलाई भने–‘तपाईंको कपाल सानो भएपनि गुन्द लगाएर पिट्न थालें भने सबै कपाल उखेलिन्छ !’

जनकपुरधाम, २२ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले नगरप्रमुख लालकिशोर साहले आफूलाई काम गर्न नदिएर उल्टै थर्काइरहेको आरोप लगाएका छन् ।
निमित्त प्रमुख यादवले मेयर साहले आफूलाई घरमा बोलाएर मैले भनेका कामहरु मात्रै गर्नुस् भन्दै दबाव समेत दिइरहेको र उनकै हिसाबले अफिस समेत जान आउन निर्देशन भेटिरहेको गुनासो पोखेका छन् ।
आफूले सेवाग्राहीका एक दुईवटा सामान्य कामहरु गर्दा पनि मेयर साहले आफूलाई धम्कीपूर्ण भाषामा चेतावनी दिएको यादवको दुःखेसो छ । उनले मेयर साहबले मलाई ‘तपाईंको कपाल सानो भएपनि गुन्द लगाएर पिट्न थालें भने सबै कपाल उखेलिन्छ’ भन्दै गालीगलौज समेत गरेको सुनाए ।
निमित्त प्रमुख यादवले उपमहानगरपालिकामा मेयर साहले आफ्नो अनुकूलका कामहरु मात्रै कर्मचारीसँग गर्न लगाएको बताए । उनले आफ्नो हिसाबले नहुँदा कुनै काम नै हुन नदिने, तोक नै नलगाउने, काम रोकेर राख्ने, सेवाग्राहीलाई फिर्ता पठाईदिने जस्ता यहाँको नियम नै बनिसकेको जिकिर समेत गरे ।
उनले भने,‘कुनै कागजमा तोक लगाउनुपर्दा मेयर साहबले त्यसअघि आफ्नो स्वकीय सचिवसँग सल्लाह लिन भन्छन् । उनका स्वकीय सचिवले पनि बजेट निकाल्न मात्र दबाव दिन्छन् ।’
आफू राष्ट्रसेवक कर्मचारी भएकोले जनताको काम छोडेर व्यक्तिको काम कदापी गर्न सक्दिन भन्दा मेयर साहब कानून पढाउन थाल्नु हुन्छ,‘उनले भने,‘आफ्नो आसेपासेका विभिन्न क्लब तथा संस्थाहरुलाई उनले आफू अनुकूल ५०/६० हजार रुपैयाँमा ठाढै तोक लगाउन दबाव दिन्छन् । विभिन्न फाउण्डेशनहरुलाई १८ देखि २० लाख रुपैयाँसम्म गैरकानूनी ढंगले निकासा गर्न दबाव दिन्छन् ।’
जनकपुरधाम उपमहानगरपालिकामा मेयर साहले हैकमवादी प्रवृति चलाएर कर्मचारी भर्ना समेत गर्न नदिएको, सरुवा भएर आउने कर्मचारीलाई आउन नदिएको जस्ता क्रियाकलापहरु गरेको निमित्त प्रमुख यादवको आरोप छ ।
मेयर साहबले नियम विपरीत आफ्नै हिसाबले कर्मचारी राखेका छन् । कुचीकार, कार्यालय सहयोगी र नगरप्रहरीलाई मात्र उपमहानगरले भर्ना गर्न पाउने कानूनी प्रावधान रहेपनि मेयर साहले भर्ना गर्न नमिल्ने खालका दर्जनौं कर्मचारी राखेका छन्,’उनले भने,‘मेयर लालकिशोर साहले आफ्ना नजिकका केही इन्जिनीयरहरुलाई कानूनी प्रक्रिया नै नर्पुयाइ यहाँ भर्ना गरेका छन् । जून कर्मचारीले मेयरको अगाडि पछाडि गरेनन् त्यस्तालाई उनले धकेलिदिएका छन् ।’
उनले जनकपुरधाम उपमहानगरपालिकामा अधिकृतहरु वडासचिवमा खटेको र नगरप्रहरीमा भर्ना भएका व्यक्तिहरुले भने फाँट चलाईरहेको जानकारी समेत दिए । मेयर साहका कारण २०७६ सालमै गर्नुपर्ने दरवन्दी मिलान अहिलेसम्म पनि हुन नसकेको बताउँदै यादवले परीक्षा सञ्चालन नै नगरी कक्षा ८ को रिजल्ट प्रकाशित गर्न लगाएको बताए । उनले दरवन्दी मिलानको सबैथोक तयार भईसकेको अवस्थामा पनि मेयर साहले निर्णय नगर्दा विद्यालयहरुमा दरवन्दीको विवरण पठाउन नसकिएको जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिकामा मेयर साहको आदेश विना एउटा पनि प्रशासनीक काम अगाडि बढ्न नसकेको र सबैथोक लथालिङ्ग अवस्थामा रहेको निमित्त प्रमुख यादवले जानकारी दिएका छन् ।