कार्यपालिका बैठक बोलाउनुपर्ने माग गर्दै वडाध्यक्षहरुले उपप्रमुखलाई बुझाए ज्ञापन

जनकपुरधाम, २२ कार्तिक । जनकपुरधामका केही वडाध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बोलाउनुपर्ने माग गर्दै उपप्रमुख रिताकुमारी मिश्रलाई ज्ञापन पत्र बुझाएका छन् ।
नगरप्रमुख लालकिशोर साहका कारण जनकपुरधाम उपमहानगरपालिकामा विगत ५ महिनादेखि कार्यपालिकाको बैठक बस्न नसकेको उपमहानगरका १२ जना वडाध्यक्षहरुको आरोप छ ।
नगरकार्यपालिकाको बैठक प्रत्येक महिनाको एकपटक बोलाउनुपर्ने कानूनी व्यवस्था भएपनि उल्लेखित व्यवस्था अनुसार विगत ५ महिनादेखि उपमहानगरपालिकाको कार्यपालिका बैठक नबोलाइएको वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए ।
उनले अविलम्व ७ दिनभित्र कार्यपालिका बैठक बोलाई नगरभित्रको फोहोर व्यवस्थापनसमेतको शीर्षक उपर छलफल गराएर कानून बमोजिम निर्णय गरिदिन माग समेत गरेका छन् ।
आफूहरुको मागलाई बेवास्ता गरिए कानूनी पक्रिया अनुसार थप कदम अगाडि बढाउने चेतावनी समेत उनीहरुले दिएका छन् ।
वडा नम्बर–१, ३, ४, ६, ७, ८, ९, ११, १६, २०, २२ र २४ का वडाध्यक्ष र श्यामा झा तथा चंचला देवीलगायत दुईजना कार्यपालिका सदस्यले उपप्रमुख मिश्रलाई ज्ञापन पत्र बुझाएका छन् ।