जनकपुरमा ई–रिक्साको चापका कारण सर्वसाधारण समस्यामा

जनकपुरधाम, २२ कार्तिक । राम्रो आम्दानी र सहज सञ्चालन गर्न सकिने हुँदा प्रदेश नम्बर २ को अस्थायि राजधानी जनकपुरधाममा ई–रिक्सा किनेर सञ्चालन गर्ने होडवाजी नै चलेको छ ।
प्रदेश नम्बर २ को अस्थायि राजधानीको रुपमा रहेको जनकपुरधाममा अहिले ई–रिक्साको कारणले सर्वसाधारणहरु समस्यामा पर्दै आएका छन । एकै परिवारका एक भन्दा बढि व्यक्ति ई–रिक्सा किनेर आम्दानी गरिरहेका छन । तर अत्याधिक संख्यामा ई–रिक्सा सञ्चालनमा आएपछि बजार नै अहिले ढाक्न थालेको छ भने ट्राफिक व्यवस्थापनमा समेत चुनौती बढ्दै गएको छ ।
सरकारी नीति र प्रष्ट निर्देशिका बन्न नसक्दा यो सवारी साधन सबैको टाउको दुखाई बनेको छ । सुरुमा ५० वटा मात्रै दर्ता गरिएको भएपनि अहिले जनकपुरधाम उपमहानगरपालिकामा ६ सय ४२ वटा ई–रिक्साहरु दर्ता रहेको छ । दर्ता भन्दा बढि विना दर्ताको सञ्चालन गर्नेको संख्या भने अत्यधिक छ । जनकपुरधाम उपमहानगरपालिकाले दर्ता गरेको भएपनि यातायाता व्यवस्था कार्यालयले रुट परमिट दिने गरेको छ । तर रुट मरमिटको आधारमा भने अहिलेसम्म कुनैपनि ई–रिक्सा सञ्चालनमा आएको देखिदैन । निकै पुरानो र थोत्रो भईसक्दा समेत सञ्चालनमा आईरहेकोले सर्वसाधारणहरुलाई आफ्नो व्यक्तिगत सवारी सञ्चालनमा समेत समस्या आउने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले समेत ई–रिक्साको कारणले ट्राफिक व्यवस्थापन चुनौती देखिएको जनाएको छ । ई–रिक्सा चालकहरु दक्ष नरहेकोले समेत समस्या आएको हो । जनकपुरधाम उपमहानगरपालिकाले सुरु देखिनै ई–रिक्साहरुलाई विना कुनै योजना दर्ता गरेकोले अहिले आएर टाउको दुखाई बनेको छ । एक त जनकपुरको सडकको हालत दुरुस्त छैन भने अर्को तर्फ उपमहानगरपालिकाकोे विना कार्य योजनाको दर्ताको कारणले गर्दा समस्या आएको हो ।
यस सम्बन्धमा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रले आफूहरू ई–रिक्सा पार्किङको व्यवस्थापनलगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेकोले समस्या उत्पन्न भएको बताइन् । छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाइने उनले बताइन् । उपमेयर मिश्रले ट्राफिक व्यवस्थापन, पार्किङ, वन वेलगायतका विषयहरूको चाँडै टुङ्गो लगाउने बताइन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख नवराज न्यौपानेले जनकपुरधाम उपमहानगरपालिकामा मात्र २ हजार ५ सयभन्दा बढि ई–रिक्सा रहेको र तिनिहरुमा जनचेतना अभावको कारण ट्राफिक व्यवस्थापनमा चुनौति आएको बताए ।
ई–रिक्सा चालकको भनाई अनुसार तीन वाट विद्युत् खर्चमा अटो रिक्साको ब्याट्री चार्ज हुन्छ । ब्याट्री चार्ज भएपछि करिब ८० किमीसम्म ई–रिक्सा चलाउन सकिन्छ । ई–रिक्साको प्रयोग बढ्न थालेपछि लामो समयदेखि पारम्परिक रिक्सा चलाउँदै आएकाहरु पनि यही साधनतर्फ आकर्षित भएका छन् । तर अहिलेसम्म यसको व्यवस्थानको विषयमा सरोकारवाला निकाय नै मौन देखिएका छन । यसको व्यवस्थान नगरिएको खण्डमा यसले नगरमा झनै समस्या थपिने देखिन्छ ।