जनकपुरधाम, २२ कार्तिक । गृहमन्त्री बालकृष्ण खाँणले तराई मधेशमा व्याप्त नागरिकता समस्या सरकारले चाँडै समाधान गर्ने बताएका छन ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले नागरिकताको समस्या तराई मधेश मात्र नभई सम्पूर्ण देशमै रहेकाले यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दिर्घकालिन रुपमा समाधान गर्न सरकारले तयारी गरिरहेको बताए ।

‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद अवरुद्ध गर्दै आएकोले नागरिकता विधेयक लगायतका अन्य आवश्यक विधेयकहरु अडकिएको छ । संसद सुचारु हुनेवित्तिकै सबभन्दा पहिला नागरिकता विधेयक नै हामी पारित गराएर समस्या समाधान गर्नेछौं,‘उनले भने ।’

आम जनताको जिवन रक्षाका लागि नेपाल सरकार गम्भिर रहेकोले सरकारको प्रमुख प्राथमिकता जनताको जिवनरक्षा रहेको र जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । गृहमन्त्री खाँणले काँग्रेसको महाधिवेशनले अन्य पार्टीलाई समेत प्रभाव पार्ने दावी गरे । उनले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीको विभिन्न गतिविधीले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने स्पष्ट पारे ।

गृहमन्त्री खाँडले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकारलाई सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको बताए । न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायपालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए ।

गृहमन्त्री खाँणलाई प्रदेश २ का डिआईजी उमेश रञ्जिकारलगायत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र तथा नेपाल प्रहरीका जिल्ला प्रमुख, प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह र कांग्रेससँग आबद्ध प्रतिनिधि तथा प्रदेश सांसदहरुले विमानस्थलमा स्वागत गरेका थिए ।