जनकपुरधाम, २१ कार्तिक । पारिवारीक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी जनकपुरधाममा आजदेखि सुरु भएको छ ।

तयारीकै क्रममा जनकपुरधामको प्रसिद्ध तलाउहरुमध्येको एक गंगासागरमा श्रद्धालुहरुका लागि घाट सजाउने कार्यको तयारी अन्तिम चरणमा पुगेको हो । गंगासारगरको चारैकुनाका डिलहरुलाई सजाउने कार्य करिव ९० प्रतिशत सम्पन्न भईसकेको देखिएको छ ।

सोमबारदेखि औपचारिक रुपमा सुरु हुन लागेको छठपर्वका लागि यसबर्ष गंगासागर घाटमा करिव साढे ८ सय घाटलाई सजाइएको श्री गंगासागर छठ पूजा समितिका सह–सचिव सोनु निधिले जानकारी दिए । उनले यसबर्ष गंगासागर घाटलाई सजाउनका लागि करिव १ लाख ५० हजार रुपैयाँ खर्च लागेको बताए । उनले प्रत्येक घाटको सहयोग शुल्क ५५१ रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।

सह–सचिव निधिले खरनाका राति १२ बजेपश्चात मात्र श्रद्धालुहरुलाई घाटमा आउन आग्रह समेत गरेका छन् ।

छठपर्वका लागि एकातर्फ जनकपुरधामका पोखरीहरुलाई सजाउने कार्य जारी रहेको छ भने अर्कोतर्फ बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको देखिएको छ ।

यस वर्ष सोमबारबाट छठ पर्व सुरु हुँदैछ । छठको पहिलो दिन सोमबार नहाय खाय, मंगलबार खरना, बुधबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने बिहिबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।