जनकपुरधाममा छठपर्वको तयारी सुरु (फोटोफिचर)

जनकपुरधाम, २१ कार्तिक । मिथिलाञ्चल लगायत तराई मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्वको तयारी सुरु भएको छ ।
पारिवारीक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी जनकपुरधाममा सुरु भएको हो ।
छठ पर्वको लागि अहिले जनकपुरधामका पोखरीहरुलाई सजाउने कार्य जारी रहेको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो । बजारहरुमा बाँस तथा माटोबाट बनेका सामग्रीहरु जताततै बिक्री भइरहेको छ । छठ पर्वमा माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायतको सामग्री प्रयोग हुन्छ ।
यस वर्ष सोमबारबाट छठ पर्व सुरु हुँदैछ । छठको पहिलो दिन सोमबार नहाय खाय, मंगलबार खरना, बुधबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने बिहिबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।
चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले श्रृंगारिएको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाइएर झकिझकाउ बनाइएको छ । यस्तै मिथिलाञ्चलको गाउँघर, सहर बजार लगायत गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीत मिथिलाञ्चलको रौनकता नै बदलिएको छ ।
पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोली पल्ट विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् । ग्रामिण भेगका कतिपय ईनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् । र विहान पख सूर्य उदाउनु केहि बेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ दिने गर्दछन् । उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याईदिने मिथिलाञ्चलमा प्रचलन छ ।
छठपर्वमा विवभिन्न स्थानमा सांस्कृति कार्यक्रमहरु पनि आयोजन हुने गर्दछ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।