जनकपुरधाम, २१ कार्तिक । कोरोना महामारीका कारण विगत २० महिनादेखि बन्द रहेको जनकपुरधाम–पटना बस सेवा शनिबारदेखि पुनः सुचारू भएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित नेपाल–भारत मैत्री बस सेवा २० महिनापश्चात् माँ जानकी जनकपुरधाम यातायात प्रालि तथा जनकपुरधाम उद्योग वाणिज्य संघको प्रयासबाट पुनः सुचारु भएको हो ।

कोरोना महामारीका कारण सतर्कता अपनाउन भन्दै २०७६ चैत ३ गतेदेखि बन्द गरिएको नेपाल–भारतमैत्री बस सेवा शनिबार राति ८ बजेदेखि पुनः सञ्चालनमा ल्याइएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए ।

एसी सुविधायुक्त बस सेवा प्रत्येक दिन जनकपुरधामबाट पटनाका लागि बिहान १० बजे र राति ८ बजे तथा पटनाको गान्धी मैदानबाट जनकपुरधामका लागि बिहान ८ बजे र राति १० बजे छुट्ने उनले बताए ।

२०७५ भदौ महिनामा जनकपुरधामबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र बिहारको पटनाबाट बिहारका मुख्यमन्त्री नितिश कुमारले हरियो झण्डा देखाएर नेपाल–भारत मैत्रीपुर्ण बस सेवाको उद्घाटन गरेका थिए ।