सप्तरी, २० कार्तिक । प्रदेश २ को सप्तरी जिल्लामा गस्तीमा गएका प्रहरीको मोटरसाइकल चोरी भएको छ ।

जिल्लाको बोदेबर्साइन नगरपालिका–८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा २ प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चोरी भएको हो ।

बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए । मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले मोटरसाइकल हराएको पुष्टि गरे ।