जनकपुरधाम, २० कार्तिक । जनकपुरधाममा छठ व्रतालुलाई पूजा सामग्री वितरण गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित माँ सोनासती ट्रेडर्सका सञ्चालक वीरेन्द्र साह र सुरज साहले छठ व्रतालुलाई साडी, गहुँ, चामल, नरिवल र नगद वितरण गरेका हुन् ।

सञ्चाला साहद्वयले निजी सहयोगबाट यी सामग्रीहरु करिब १ सय ५० व्रतालुलाई वितरण गरेका छन् ।

छठ पर्व गर्ने व्रतालुले नयाँ साडी लगाउनुपर्ने, गहुँको पिठोबाट बनाइएको प्रसादले पूजा गर्नुपर्ने भएकाले ती सामग्री वितरण गरिएको माँ सोनासती ट्रेडर्सका सञ्चालक वीरेन्द्र साहले बताए । उनले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने आवश्वासन दिए ।

पूजा सामग्री वितरण कार्यक्रममा उपस्थित प्रमुख अतिथी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले छठ पर्वमा आर्थिक रूपले विपन्न परिवारका व्रतालुलाई साडी एवं पूजा सामग्री वितरण गरिनु साहद्वयको प्रशंसनीय काम भएको बताए ।