आज चित्रगुप्त जयन्ती, कायस्थहरु आफ्नो आराध्य देव चित्रगुप्तको पूजा–आराधना गर्दै

जनकपुरधाम, २० कार्तिक । कायस्थहरुको ईष्टदेव एवं कलमका आराध्य भगवान चित्रगुप्तको आज धार्मिक नगरी जनकपुरधामसहित देश विदेशमा रहेका कायस्थहरु श्रद्धाभक्तिपूर्वक पूजा आराधना गरिरहेका छन् ।
यमपन्चकको अन्तिम यम द्वितीयाका दिन श्री चित्रगुप्त जयन्ती एवं पुजनोत्सव श्रद्धाभक्तिपूर्वक मनाइन्छ । कलम र दबातको आज पूजा हुने गरिन्छ । चित्रगुप्त कायस्थ जातिको इष्ट देवता पनि भएकोले देश विदेशमा रहेका सम्पूर्ण कायस्थहरुले आज भगवान चित्रगुप्त एव्म कलम दबातको पूजा गर्ने गर्छन ।
यमराजको दरवारमा पाप र पुण्यको लेखाजोखा चित्रगुप्तले राख्ने पुराणमा उल्लेख छ । मनुष्यको कर्मको लेखाजोखा जीवनको मृत्यु पश्चात यमराज समक्ष चित्रगुप्तले राख्ने र सोही अनुसार स्वर्ग र नर्क यमराजले फैसला गर्ने गरेको किमबदन्ती रहेको छ । चित्रगुप्त परमपिता ब्रह्माजीको अंश कायाबाट उत्पन्न भएको पुराणमा उल्लेख छ । चित्रगुप्तको एक हातमा कलम र दबात एब अर्को हातमा किताब रहेको छ ।
कायस्थहरु आज कलम र दबातको साथै चित्रगुप्तको पूजा भव्य रुपमा गर्छन । प्रदेश २ को जनकपुरधाम, वीरगन्ज, राजविराजमा रहेको चित्रगुप्त मन्दिरहरुमा आज दिनभरी भिडभाड रहने गर्छ भने अन्य स्थानहरुमा माटोको मूर्ति स्थापित गरी पूजाआजा गरी भोलिपल्ट बिसर्जन गर्ने गरिन्छ ।
चित्रगुप्त पुज्नोत्सवको अवसरमा विगतेका बर्षहरु जस्तै यसबर्ष पनि जनकपुरधामको देवीचोकमा अवस्थित चित्रगुप्त सेवा समितिले कवि गोष्ठी, सम्मान लगायतका कार्यक्रमहरुको आयोजना गर्न लागेको छ ।