जनकपुरधाम, १८ कार्तिक । यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत दुईजना कर्मचारीमाथि कारवाही गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले पत्र काटेको एक महिना बित्न लाग्दा समेत उनीहरुमाथि कुनै कारवाही गरिएको छैन् ।

मन्त्रालयले यातायात कार्यालय जनकपुरमा कार्यरत करारका कर्मचारीद्वय भीष्म नारायण साह र दिलीप साहलाई कारवाही गर्न गत असोज २५ गते यातायात व्यवस्था कार्यालयलाई पत्र काटेको थियो ।

गत असोज १९ गते मंगलबार साँझ उनीहरु दुबैजनाको आइडीबाट केही व्यक्तिहरुको अनलाइन फाराम एडिट भएकोले दुबैजनालाई त्यहाँबाट आवश्यक कारवाही गरी मन्त्रालयलाई जानकारी गराउन भनिएकोमा अहिलेसम्म कुनै कारवाही नै नगरिएको स्रोतले जनाएको छ ।

उनीहरु दुबैजना करारका कर्मचारी रहेकोले मन्त्रालयले कारवाही गर्न नमिल्ने जनाउँदै यातायात कार्यालयलाई नै कारवाही गरेर पठाउन भनिएको थियो ।

भीष्म नारायण साह र दिलिप साहको आइडीबाट केही व्यक्तिहरुको फाराम एडिट गरिएको कुरा यातायात व्यवस्था विभागमार्फत नै आफूहरुलाई जानकारी भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपककुमार दासले बताए ।

यस सम्बन्धमा यातायात कार्यालय जनकपुरका निमित्त प्रमुख वीरेन्द्र साहले उनीहरु दुबैजनालाई सचेत गराइएको बताए ।

निजामती सेवा ऐनको नियम कानून अनुसार दुबैजनामाथि कारवाही गर्न मन्त्रालयले पत्र काटेपनि त्यस्तो कुनै कारवाही नगरिएको यातायातका एक कर्मचारीले बताए । उनले कारवाही गर्न भनिएका कर्मचारीद्वय भीष्म नारायण र दिलीपमाथि कारवाही नगरी कार्यालय प्रमुख साहले उनीहरुको कार्यक्षेत्र झन बढाईदिएको समेत दावी गरे ।

यातायात कार्यालय जनकपुरका कर्मचारीद्वय भीष्म नारायण र दिलीपले अहिले लाइसेन्स सम्बन्धी सम्पूर्ण कामहरु गरिरहेको उनले बताए ।