जनकपुरधाम, १८ कार्तिक । दीपावलीका दिन केराका थाम र फूलमाला बेच्न जनकपुरधाम बजारमा बिहानैदेखि किसानहरु ओर्लेका छन् ।

आफ्नै बगानमा उब्जाएको केराका थाम ट्याक्टर तथा बयलगाडामा लोड गरेर किसानहरु बिहानैदेखि जनकपुरधाम बजारमा घुमिरहेको देखिएको छ भने फूलमाला बेच्न मालीहरु भने रातिदेखि नै चोक चोकमा पसल थापेर बसेका छन् ।

खासगरी बजार क्षेत्रका व्यापारिक प्रतिष्ठानले आफ्नो पसल अगाडि स्वागतद्वार बनाउने प्रयोजनका लागि केराका थाम प्रयोग गर्ने मिथिलाको परम्परा भएकाले दीपावली पर्वमा थामको कारोबार निकै हुने गरेको छ । जनकपुरधाम बजारमा बिहानैदेखि केराका थाम तथा फूलमाला बेच्ने र किन्नेको चहलपहल देखिएको थियो ।

पर्वका लागि आफ्नै बगानमा उब्जाएको केराका थाम ट्याक्टरमा लोड गरेर जनकपुरधाम बजार पु¥याएका आफूले २५० रुपैयाँका दरले बेचिरहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–३ बस्ने कासिम अन्सारीले बताए । उनले यसबाट राम्रै आम्दानी हुनेगरेको समेत जानकारी दिए ।

त्यसैगरी पर्वका अवसरमा जनकपुरमा मात्रै बिहीबार बिहानै करिव ४/५ हजार थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । लक्ष्मीपूजाका दिन करिब १० लाख बराबरको केराको थाम बिक्री भएको हुनसक्ने उनले अनुमान गरे ।

अध्यक्ष महासेठले केराका थाम मात्र नभई फूलमालाको बिक्री पनि आजका दिन ह्वात्तै बढेको बताए । उनले जनकपुरधाम बजारमा लक्ष्मीपूजाका दिन करिव ५० लाख बराबरको फूलमालाको बिक्री हुनेगरेको जानकारी समेत दिए ।

थाम बिक्री गरेका किसान र फूल बिक्री गरेका मालीको यसपालिको दीपावली र छठ पर्व मनाउने खर्च यसैबाटै जुटेकोे उनीहरुले बताएका छन् । लामो बन्द र हडतालकाबीच अत्यावश्यक दैनिक प्रयोजनका सामानको अभाव खेपिरहेका किसानहरुले यसबाट भने केही राहत मिलेको बताए ।

तस्बिरहरुः रजत कायस्थ