धनुषा प्रहरीद्वारा डेढ लाख बराबरको पटाका नष्ट

जनकपुरधाम, १७ कार्तिक । धनुषा प्रहरीले डेढ लाख बराबरको पटाका नष्ट गरेको छ ।
चाडपर्वमा आतिशवाजी गर्न भारतबाट लुकाई छिपाई ल्याइएको १ लाख ५० हजार रुपैयाँ बराबरको विष्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले विभिन्न समय र स्थानबाट बरामद गरेको पटाका, भुइँचम्पा, आतिशबाजी र झुरझुरे नष्ट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको पटाका, भुइँचम्पा, आतिशबाजी तथा अन्य विष्फोटक र प्रज्वलनशील पदार्थ कार्यालयमा ल्याएर नष्ट गरिएको जानकारी दिए ।
दशैं, तिहार तथा छठ पर्व लक्षित सुरक्षा योजना अनुरूप बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाई समेतबाट परिचालन भएको प्रहरी टोलीहरूले भारतबाट लुकाई छिपाई ल्याएका अवैध पटाकाजन्य पदार्थहरू नियन्त्रणमा लिएर नष्ट गरिएको उनले बताए ।
तस्बिरः जिल्ला प्रहरी कार्यालय धनुषा