काठमाडौं, १७ कार्तिक । अब कोरोनाविरुद्धको खोप प्रमाणीकरण स्थानीय तहबाटै हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रको सेवासम्बन्धी निवेदन स्थानीय तहहरूबाट रूजु हुने भएको हो ।

बुधबारदेखि अनलाइन आवेदन दिँदा केही समस्या भएमा वा थप बुझ्नुपरेमा आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहमा सम्पर्क गर्न स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ ।

यसअघि खोप प्रमाणीकरणका लागि केन्द्रकै भर पर्नुपरेको थियो । अनलाइन आवेदनमार्फत विद्युतीय खोप प्रमाणपत्रको सेवा प्रदान हुँदै आइरहेको छ ।

विशेषगरी विदेश जानेहरूलाई क्यूआर कोडसहितको खोप प्रमाणपत्र अनिवार्य गरिएको छ ।