नीति तथा योजना आयोगद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण

जनकपुरधाम, १७ कार्तिक । प्रदेश नम्बर २ को नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
आयोगका उपाध्यक्ष प्राध्यापक डा. भोगेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
आयोगले गत आर्थिक वर्षमा गरेका कामहरुको विवरण समेट्दै ६० पृष्ठको प्रतिवेदन तयार पारेको छ । आयोगले आफ्नो प्रतिवेदनमा गत आर्थिक वर्षको गतिविधिहरु समेटेका छन् । उपलब्धिमा प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सिमा निर्धारण र मार्ग दर्शन, मध्यमकालिन खर्च संरचना, दीगो विकासका लक्ष्यहरुको मार्गचित्रलगायतकाहरु उल्लेख रहेको उपाध्यक्ष डा.झाले जानकारी दिए ।
यसैगरी प्रदेशको जनसांख्यिक अवस्था, प्रोफाइल निर्माण, प्रदेश अनुगमन तथा मुल्यांकन दीग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दीग्दर्शन निर्माणलगायतका विषय वस्तुहरु समेत समेटिएको उनले बताए ।
नीति तथा योजना आयोगले हस्तान्तरण गरेको प्रतिवेदनलाई मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाको बैठकमा पेश गर्ने छन् ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, आयोगका पदाधिकारी तथा कर्मचारी र मुख्यमन्त्रीको सचिवालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।