जनकपुरधाम, १७ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरियाले जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशको मत बेचेको आरोप लगाएका छन् ।

धनुषाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य समेत रहेका अरगरियाले मधेशी जनताले आफ्ना प्रत्यक्ष उम्मेदवारलाई मत दिएर जिताए पनि उपेन्द्रले समानुपातिकमा दिइएको मत बेचेको दावी गरे ।

उपेन्द्रले मधेशको समानुपातिक मतलाई काठमाडौं गएर बेचेको अरगरियाको आरोप छ ।

उनले भने, ‘भोट हाम्रो धनुषा जिल्लाको । तर सांसद राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङ्ग, लिला सिटौला बने । मधेशको मत बेचिएको हो कि होइन ?’

अरगरीयाले आफू जसपामा हुँदा उपेन्द्रले जय मधेश नभन्न सिकाएको भन्दै उनले भने,‘काठमाडौंको एउटा बैठकमा मैले जय मधेशभन्दा संघीय अभिभावदन भन्न भनियो । उपेन्द्र यादव मधेश जाँदा मधेश भन्ने, लिम्मुबानमा गएर लिम्मुबान भन्ने तर पार्टीभित्र संघीय अभिभावदन भन्न सिकायो ।’

अरगरीयाले उपेन्द्र यादव सरकारमा हुँदा सरुवा बढुवा गर्नका लागि समेत मधेशी जनतासँग रकम लिएको आरोप लगाए ।