प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

विराटनगर, १६ कार्तिक । प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राइलार्ई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
भिम आचार्यले सोमबार राजीनामा दिएपछि राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । प्रदेश सभामा रहेका ४९ जना सदस्यले हस्ताक्षर गरेर हिजो नै मुख्यमन्त्रीको रुपमा राईको दावी पेश गरेका थिए ।
सपथ ग्रहण पश्चात मुख्मन्त्री राईले आजै मन्त्रिपरिषद् समेत विस्तार गरेका छन् । कांग्रेसका तर्फबाट केदार कार्कीले आन्तरिक मामिला मन्त्रीको रुपमा सपथ लिएका छन् । कार्कीको नेतृत्वमा कांग्रेस प्रदेश १ सरकारमा गएको हो ।
विराटनगर स्थित परपलहेज रिर्सोटमा भएको गठबन्धनको बैठकपछि भौतिक मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय कांग्रेसलाई दिने सहमति भएको थियो । कांग्रेसका तर्फबाट हिमाल कार्की भौतिक पुर्वाधार विकास मन्त्री बनेका छन् ।
यस्तै माओवादी केन्द्रको भागमा भने आर्थिक मामिला मन्त्रालय परेको छ । आर्थिक मामिला मन्त्रीको रुपमा इन्द्र आंवोले सपथ खाएका छन् । यस्तै जसपाको भागमा सामाजिक विकास मन्त्रालय परेको छ । जसपाका तर्फबाट जयराम यादव मन्त्री बनेका हुन् । गठबन्धनमा रहेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्वाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।