कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

एजेन्सी, १६ कार्तिक । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीबाट संसारभर मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ ।
त्यस्तै, कोभिडबाट विश्वभर २४ करोड मानिस संक्रमित भएका छन् । अहिले पनि कोभिडबाट विश्वमा दैनिक ८ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।
युरोपलगायतका देशमा कोभिड संक्रमण फेरि बढेको छ । ‘युरोपमा पछिल्लो समयमा महामारी बढ्दा पछिल्लो दुई महिनामा कोभिड संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेहब्रेससले भने ।
रसियामा कोभिडबाट संक्रमित र मृत्यु हुने दुबैको संख्या बढिरहेको छ । २० अक्टोबरपछि रसियामा कोभिडबाट दैनिक १ हजारको मृत्यु हुन थालेको छ ।
सरकारी तथ्यांकअनुसार १ नोभेम्बरसम्म रसियामा कोभिडबाट दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ । सरकारमाथि कोभिडबाट मृत्यु हुनेको संख्या लुकाएको आरोप लाग्दै आएको छ ।
युरोपमा रसियापछि युक्रेन, रोमानियामा कोभिडबाट धेरै मानिसको मृत्यु भएको छ । ती दुबै देशमा औषतमा ५ सयको मृत्यु हुने गरेको छ । यसैबीच, अमेरिकामा पछिल्लो एक सातामा कोभिडबाट औसतमा दैनिक एक हजार ४ सय जनाको मृत्यु हुने गरेको छ ।