पुनः मतगणना पश्चात् विजयी भएका वडाध्यक्ष रायद्वारा पदभार ग्रहण

जनकपुरधाम, १६ कार्तिक । निर्वाचनको चार वर्षपछि पुनः मतगणना पश्चात् विजयी भएका महोत्तरीका एक वडाध्यक्षले पदभार ग्रहण गरेका छन ।
जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष रमेशकुमार रायलाई एक कार्यक्रमका बिच नगर प्रमुख संजय कुमार सिंहले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।
सपथ पश्चात् कार्यक्रममा बोल्दै वडाध्यक्ष रायले ढिलै भएपनि सत्यको जित भएकोमा खुशी व्यक्त गरेका छन । उनले आफू यो मुद्दा मामिलामा पर्न नचाहेपनि जनताले आग्रह गर्दा मुद्दा मामिलामा गएको र अन्त्यमा जित भएको बताए ।
रायले भने,‘पार्टीले टिकट दिंदैमा कोही नेता बन्दैन, नेता जनताले बनाउँछ, नेताले नेता बनाउँदैन । मलाई आफ्नो अमुल्य मत दिइ जिताउने सम्पुर्ण जनतालाइ धन्यवाद दिन चाहन्छु ।’
०७४ असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन भएको ६ दिनपछि त्यहाँको नतिजा सार्वजनिक गरिएको थियो ।स्वतन्त्र उम्मेदवार रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीबीच कडा प्रतिस्पर्धा देखिएको थियो । अन्तमा दुवै उम्मेदवारले समान २ सय ६७ मत ल्याएपछि गोला प्रथाबाट चौधरी निर्वाचित भएका थिए । पराजय अस्वीकार गर्दै रायले अदालतमा मुद्दा दर्ता गरेका थिए ।
उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि निर्वाचित चौधरी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदिएपछि पुनः मतगणना भएको थियो ।अदालतको आदेशअनुसार कात्तिक ७ गते पुनः मतगणना हुँदा राय दुई मतले निर्वाचित भएका थिए । पुनः मतगणनाअनुसार रायले २६८ र चौधरीले २६६ मत ल्याई विजयी भएका हुन् ।