प्रधानाध्यापक साहमाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाहीको माग गर्दै शिक्षकहरु आन्दोलित

जनकपुरधाम, १५ कार्तिक । धनुषाको सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहमाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाहीको माग गर्दै जिल्लाभरका शिक्षकहरुले सोमबार जनकपुरधाममा बिरोध प्रदर्शन गरेका छन् ।
स्थानीय रेल्वे स्टेशनबाट निकालिएको विरोध ¥यालीले भानु चोक, शिव चोक, जनक चोक हुँदै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । बिरोध प्रदर्शनमा सहभागी शिक्षकहरुले ‘शान्ति सुरक्षा कायम गर’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै शिक्षकहरुले जनमत पार्टी मुर्दावाद नारा समेत लगाएका थिए ।
प्रदर्शनपछि दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत दिएका छन् । घटनामा संलग्नलाई एक हप्ताभित्र कारवाहीको दायरामा ल्याउन प्रशासनलाई शिक्षकहरुले ज्ञापनपत्र मार्फत अल्टिमेटम समेत दिएका छन् ।
धनुषाको सबैला नगरपालिकास्थित फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई जनकारवाही भन्दै गत शुक्रबार बिद्यार्थीहरुले कालोमोसो दलेका थिए । उनीहरूले मोटरसाइकलमा गएरहेका बेला प्रधानाध्यापक साहमाथि कालोमोसो दलेका थिए ।
बिद्यार्थीहरुले विद्यालयमा नियमित पठन–पाठन हुनुपर्ने र शिक्षकको व्यवस्थापन हुनुपर्ने, शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरूले पुस्तक पाउनुपर्ने, विद्यालयका नाममा आएका सामग्रीहरू विद्यालयमा राख्नुपर्ने, विद्यालय सुधारका लागि सरोकारवालाहरूको वृहत भेला गरी अन्य विषयहरूमा निर्णय लिनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए ।