जनकपुरधाम, १५ कार्तिक । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले आफ्नो सेवा विस्तार गरेको छ ।

अब प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १ सय २५ किसिमको जाँच हुने भएको छ । थाइरोइडको जाँच, भिटामिन ए, भिटामीन बि, ट्युमर मार्कर, हार्मोन, प्याप, अटोमेटेड ब्लड कल्चर, अटोमेटिक टिस्यु प्रोसेसिङ्ग, एचआइभी भाइरल लोड लगायतका सेवा सोमबारदेखि प्रयोगशालामा सुरु गरिएको हो ।

एचआइभीको जाँच काठमाडौँमा मात्र भइरहेकोले अब जनकपुरधाममा समेत त्यसको जाँच हुने प्रयोगशालाले जनाएको छ ।

प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले एक कार्यक्रमका बिच सर्ने रोग, नसर्ने रोग, गुणस्तर नियन्त्रण, तालिम तथा सम्पूर्ण प्रयोगशाला जाँचहरुको सेवा सञ्चालनको शुभारम्भ गरेका छन् ।

मन्त्री साहले प्रदेश २ को स्वास्थ्य स्थितीमा सुधार गर्नका लागि यी सेवाहरु सञ्चालन गरिएको बताए । उनले कोरोनाका कारण ढिलो भएपनि पुनः काम थालिएको बताए । विरामी पर्नुभन्दा अगाबै त्यसको जाँचका लागि आज प्रदेशमा प्रयोगशालाको विस्तार गरिएको मन्त्री साहले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण कुमार मिश्रले प्रदेशमा पब्लिक हेल्थ, ल्यावोरेटरी सर्भिस र केमिकल रिलेटेड हेल्थ सर्भिसको शुरुवात गर्नु प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापनाको मुख्य उद्देश्य रहेको बताए ।

मिश्रले यस प्रयोगशालामा एचआइभी भाइरल रोग, हेपाटाइटिज ‘बि’, हेपाटाइटिज ‘सी’, टेवरक्लोसिसको जाँचको शुरुवात समेत गरिएको बताए । उनले अब प्रदेशको पालिकाहरुमा समेत सेवा विस्तार गर्ने कार्य सुरु हुने जानकारी दिए ।

निर्देशक मिश्रले रोगको अर्लि डाइलाइसिसका लागि धरान, काठमाडौँ, दिल्ली जानु पर्नेभएकोले अब जनकपुरधाममै डाइग्नोसिस सर्भिस प्रदेशस्तर देखि जिल्ला स्तरसम्ममा आएको बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सुरुमा कोरोना परीक्षण मात्र गरिएपनि अहिले आएर बायो केमिष्ट्री डिपार्टमेन्ट, इन्डोक्राइनलोजि डिपार्टमेन्ट, माइक्रोबायोलोजि डिपार्टमेन्ट, हेमाटोलोजि डिपार्टमेन्ट, मोलेकुलर बायोलोजि डिपार्टमेन्ट लगायतको शुरुवात भएको छ ।