जनकपुरधाम, १५ कार्तिक । जनकपुरधाममा इमान्दार छविको व्यक्तित्वका रुपमा परिचित पूर्वमेयर राजदेव मिश्रको निधन भएको छ ।

मिश्रको सोमबार बिहान साढे ३ बजे ८५ वर्षको उमेरमा आफ्नै निवास जनकपुरधाम उपमहानगरपालिका–४ आनन्दनगरमा निधन भएको पत्रकार समेत रहेका उनका छोरा घनश्याम मिश्रले जानकारी दिए ।

मिश्र दलिय राजनीतिभन्दा माथी उठेर राजनीति गर्ने व्यक्तित्व थिए । उनी उमेरको उत्तराद्र्धमा आएपनि जनकपुरधामको भविष्यप्रति सदैव चिन्तित हुन्थे । नगरभित्र पैदल घुम्ने, चोक चोकमा बसेर जनकपुरधामको भविष्य र भावी दिशाको विषयमा चर्चा परिचर्चा गर्ने र पुरोहिती (पुजा) कर्म गर्ने उनको दैनिकी थियो । जो कोही उनलाई भेटे ‘बाबा प्रणाम’ भनेर सम्बोधन गर्थे । मिश्रलाई नामले नचिन्नेहरु समेत इमान्दार छविको नेता भन्नेवित्तिकै चिनि हाल्थे ।

पञ्चायती व्यवस्थामा तत्कालिन जनकपुर नगर पञ्चायत वडा नम्बर–३ को अध्यक्ष हुँदै तत्कालिन जनकपुरधाम नगरपालिकाको मेयरसम्म बनेका थिए मिश्र । यद्यपि उनी कुनै दलिय राजनितिमा नगइ सदैव स्वतन्त्र रुपमै रहेर चुनाव लडेर ती पदहरुमा पुगे । कट्टर राजावादीको रुपमा मिश्र चिनिएपनि राजसंस्थालाई समर्थन गर्ने दलहरुमा समेत उनले आफ्नो संलग्नता देखाएनन् ।

शुरुमा मजदुरहरुको हक अधिकारका लागि आवाज उठाउँदै मिश्रले वि.सं. २०३४ सालमा नगर पञ्चायतको चुनावमा वडा नम्बर–३ बाट वडाध्यक्षका लागि स्वतन्त्र उमेदवार बनेका थिए । जसमा उनले लामो मतान्तरले विजय पनि हासिल गरेका थिए । त्यसपछि जनकपुरधामको उपप्रधान पञ्चमा समेत जित हासिल गरेका थिए ।

उपप्रधान पञ्चमा चुनाव लड्दा उनले ‘एक भोट एक नोट’ को नारा दिएर अत्याधिक मत ल्याई विजयी भएका थिए । त्यस लगत्तै देशमा पञ्चायत बिरुद्धको आन्दोलन तीव्र हुँदै गयो र मिश्रको राजनीतिक यात्रा पनि शिथिल भयो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गर्दा जनकपुरधाम नगरपालिकाको मेयर बने मिश्र । मेयर बने लगत्तै मिश्रले जनकपुरधामका सडकहरुको विस्तारको अभियान चलाएर क्रान्ति ल्याए । त्यो समयमा उनी बिरुद्ध कति व्यक्ति खनिए तर उनी भने आफ्नो अभियानमा अडिग रहे । उनले जनकपुरका गल्लिहरुलाइ सडक बनाए । त्यसकारण अझै पनि उनका नाम चोकचोकमा चर्चा भइरहन्छ । उनको अभियान सम्पन्न हुन नपाउँदै देशमा राजतन्त्र समाप्त भयो । राजतन्त्र समाप्त भए लगत्तै ४ महिनाको मेयर पदमा रहेर काम गर्ने उनको अवधि पनि समाप्त भयो ।

उनलाई नजिकबाट चिन्नेहरु मध्ये पर्छन् प्रदेश २ निति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा । झाले उनलाई राजनीतिज्ञ भन्दा पनि मजदुरहरुको सशक्त नेताको रुपमा मान्छन् । मिश्र मजदुरहरुका लागि मसिहा मात्र नभई सामाजिक समरसताका पक्षधर, समाजवादीको प्रतिकको रुपमा रहेको निति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा बताउँछन् ।

‘नेपालमा कम्युनिष्टहरु समाजवादको नारा त दिन्छन् तर व्यवहारमा भने केही देखिदैन ।, झाले भने,‘मिश्र आचरणबाट समाजवादी थिए । मिश्रको निधनले उनको परिवारलाई क्षति त भएको छ नै त्यसमाथी मजदुरहरुले पनि एक सशक्त नेता गुमाएका छन् ।’

बुवा मेयर भएकै बेला दाई विनोद मिश्रले जनकपुर चुरोट कारखानामा जागिर पाएका थिए । तर बुवाको आलोचना हुन थालेपछि उनले दाईलाई जागिरबाट हटाउन लगाएको कुरो अझै स्मरण रहेको सञ्चारकर्मी समेत रहेका उनका छोरा घनश्याम मिश्रले सुनाए ।

जनकपुरधामका पूर्वमेयर एवं इमान्दार छवि बनाएका मिश्रको निधनसंगै जनकपुरधाम स्तब्ध बनेको छ ।