जनकपुरधाम, १४ कार्तिक । जन्मदर्ताको सिफारिसका लागि घुस मागेको भन्दै महोत्तरीका एक वडाध्यक्ष र कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ ।

जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अ‍ैबुल राईनविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । दुबैजनालाई १० हजार रुपैयाँ माग दावी गर्दै मुद्दा दिइएको हो ।

वडाध्यक्ष महतो र कम्प्युटर अपरेटर राईनलाई अख्यितार आयोग बर्दिबासको टोलीले असोज २४ गते घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा वडाध्यक्ष महतोले जन्मदर्ता बनाउन सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस मागेका थिए । जन्मदर्ताको लागि घुस लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिएकाले १० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको प्रवक्ता रिसालले बताए ।

त्यस्तै करारमा सहायक कम्प्युटर अपरेटरमा कार्यरत्त राईनको समेत संलग्नता देखिएकोले बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।