प्रदेश २ः ४८ हजार ६८४ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति

जनकपुरधाम, १४ कार्तिक । कार्तिक महिनाको पहिलो साताको अविरल वर्षा तथा हावाहुरीका कारण प्रदेश २ मा ४८ हजार ६८४ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ ।
वर्षाले ४८ हजार ६८४ हेक्टर क्षेत्रमा लगाएको धानबाली पूर्णरुपमा क्षति भएको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिष कुमार पालले जानकारी दिए । उनले प्रतिशतको आधारमा हेर्दा ११ प्रतिशत क्षेत्रफलको धानबाली क्षतिग्रस्त भएको बताए ।
प्रदेश २ का आठवटै जिल्लाको ४ लाख ३ हजार १६३ हेक्टर क्षेत्रफलमा किसानहरुले धानबाली लगाएपनि ४८ हजार ६८४ हेक्टर क्षेत्र (११ प्रतिशत) मा बेमौसमि वर्षाले प्रभावित गरेको उनले बताए । उनका अनुसार छिटो पाक्ने र टारी खेतको धान केही ठाँउमा दसैंलगतै काटेका किसानको लगातार २ दिन परेको वर्षाले गर्दा धानवालीमा क्षति पुगेको हो । ढिलो पाक्ने धानमा किसानले फल लगाई सकेकाले धान काट्न र व्यवस्थापन गर्न कठिन भएपनि धेरै क्षति भने नभएको उनले जनाए ।
अविरल वर्षा तथा हावाहुरीका कारण प्रदेशमा सबभन्दा बढि सप्तरी जिल्लाका किसानहरु प्रभावित भएका छन् । सप्तरीमा ६६ हजार १५० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमध्ये १६ हजार ५३७ हेक्टर क्षेत्रफल अर्थात २५ प्रतिशत धानबालीमा क्षति पुगेको हो । त्यस्तै, सिरहामा ५८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमध्ये ८ हजार ७ सय अर्थात १५ प्रतिशत, धनुषामा ५८ हजार ५ सय हेक्टरमा लगाइएको धानबालीमध्ये ४ हजार ६८० अर्थात ८ प्रतिशत क्षेत्रको धानमा क्षति पुगेको पालले बताए ।
यस बर्ष महोत्तरीमा ४५ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा ३ हजार ७८ हेक्टर क्षेत्रफल अर्थात ७ प्रतिशत, सर्लाहीमा ४३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमध्ये ७ हजार ४० अर्थात १६ प्रतिशत, रौतहटमा ३८ हजार ७५० हेक्टर क्षेत्रफलमा लगाइएकोमा ३ हजार १५५ अर्थात ८ प्रतिशत क्षेत्रफलको धानबालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बारा जिल्लामा ५८ हजार २१४ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमध्ये ४ हजार ९९४ अर्थात ९ प्रतिशत हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ । कात्तिक १ र २ गतेको अत्यधिक बर्षा र हावाहुरीले सबभन्दा कम पर्सा जिल्लाका किसानहरु प्रभावित भएका छन् । पर्सामा ३५ हजार ५० हेक्टरमा लगाइएको धानबालीमध्ये ५ सय हेक्टर अर्थात २ प्रतिशत क्षेत्रफलमा क्षति भएको पालले जानकारी दिए ।
प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा कात्तिक १ र २ गतेको अत्यधिक बर्षा र हावाहुरीका कारण धानबालीमा मात्र क्षति पुगेपनि सप्तरी, सिरहा, बारा र पर्सामा अन्य बालीमा पनि क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
जसअनुसार सप्तरीमा धानबालीबाहेक ८९० हेक्टर क्षेत्रफलमा लगाइएको केराबारीमध्ये ५० प्रतिशत, १ हजार ५५७ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबारी मध्ये १५ प्रतिशत र १ हजार १४ हेक्टरको अन्य बालीमध्ये १० प्रतिशतमा क्षति पुगेको तथ्यांकले देखाएको छ ।त्यस्तै, सिरहामा २ हजार ३ सय हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बारीमध्ये २० प्रतिशतमा क्षति पुगेको हो ।
त्यस्तै, बारा र पर्सा जिल्लामा समेत तरकारी, तोरी र मुसुरोबालीमा क्षति पुगेको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिष कुमार पालले जानकारी दिए ।