‘जानकी लीला’ प्रदर्शन गर्न मिनापका कलाकारहरु अयोध्यामा

जनकपुरधाम, १४ कार्तिक । भारतको अयोध्यामा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागी हुन जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप)का कलाकारहरु अयोध्या पुगेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उनीहरुलाई विदाई गरेका हुन् ।
कलाकारहरुको विदाई कार्यक्रममा बोल्दै वरिष्ठ नेता महतोले नेपाल भारतको सम्बन्धलाई बलियो बनाउनका लागि कलाकारको भुमिका महत्वपुर्ण रहेको बताए । उनले नेपाल भारतको संस्कृतिले नै एक अर्का देशबिचको सम्बन्धलाई बलियो बनाउने कार्यहरु गरिरहेको जिकिर गरे ।
महतोले राम र सिता बिचको सम्बन्ध रामायणकालिन भएकै कारण आफुहरु नेपाल र भारत बिचको सम्बन्धलाई बेटीरोटिको सम्बन्ध बताउँदै आएको र सांस्कृतिक विकास तथा आदानप्रदानबाट यसको विकास झनै हुने दावी समेत गरे ।
महतोले सिता बिना सम्पुर्ण रामायण नै अपुरो रहेको र रामायणले नै नेपाल भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताए ।मिथिलाको कलाक्षेत्र पौराणिक काल देखि नै उन्नत रहेको भन्दै उनले यसको विकासमा आफ्नो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मिनापका कलाकारहरुको टोली भगवान रामको जन्मस्थल भारतको अयोध्यामा उत्तर प्रदेश सरकारद्वारा आयोजित दीपोत्सव कार्यक्रममा माता जानकीको गाथा ‘जानकी लिला’ प्रदर्शन गर्न त्यसतर्फ प्रस्थान गरेको हो ।
दीपोत्सवमा पाँच देशका टोलीमध्ये नेपालको मिनापले मात्र ‘जानकी लीला’ प्रदर्शन गर्नेछ ।