मेयरको घर अगाडि वडाध्यक्षहरुले फोहोर थुपारे, कालोमोसो दल्ने चेतावनी

जनकपुरधाम, १४ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा कुनै ध्यान केन्द्रीत नगरेको भन्दै वडाध्यक्षहरुले नै नगर प्रमुख लालकिशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् ।
दीपावली नजिकिए पनि नगरप्रमुख साहले उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै आइतबार बिहान केही वडाध्यक्षहरुले नै नगरप्रमुख लालकिशोर साहको घर अगाडी फोहोर थुपार्दै उनलाई कालोमोसो दल्ने चेतावनी दिएका हुन् ।
नगरप्रमुख साहको घर अगाडी फोहोर थुपार्दै उपमहानगरमा अव्यवस्थित तरिकाले थुपारिएका फोहोर नउठ्दा नगर दुर्गन्धित भएको र यसतर्फ नगरप्रमुख साहले कुनै चासो नदेखाउँदा आफूहरु बाध्य भएर उनको घर अगाडि फोहोर थुपारेको वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए ।
वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरि थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरे आफूहरु चाँडै उनलाई कालोमासो दल्ने चेतावनी दिए ।
वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायकाहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना समेत दिएका छन् । प्रहरीले नगर प्रमुख साहको घर अगाडी फोहोर फाल्न नदिएपछि उनीहरुले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए ।
नगर प्रमुख लालकिशोर साहले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति कुनै वास्ता नै नगरी भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप वडाध्यक्षहरुले लगाएका छन् ।
वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहले वडाका विभिन्न सडक छेउहरुमा फोहोर थुपारिएपनि उपमहानगरले व्यवस्थापन नगर्दा आफूहरुले विरोधस्वरुप नगरप्रमुखको घर अगाडि नै फोहोर थुपारेको बताए ।
जनकपुरधाम उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै नगरप्रमुख साहप्रति जनप्रतिनिधिहरु पनि आक्रोशित बनेका छन् ।