जनकपुरधाममा आजदेखि महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु

जनकपुरधाम, १२ कार्तिक । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कदै गएको समयमा देशभित्रै उत्पादित वस्तुहरुको बजारलाई चलायमान बनाउन जनकपुरधाममा आजदेखि तीन दिवसीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनामा आइतबारदेखि मंगलबारसम्म प्रदेश स्तरीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनीको आयोजना गरिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए ।
स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उनले बताए । जनकपुरधामको गोपाल धर्मशालामा सुरु हुन लागेको प्रदर्शनीमा प्रदेशका ८ वटै जिल्लाका महिला उद्यमी तथा बाहिर जिल्लाका सहभागीहरु रहने भएका छन् ।
प्रदर्शनीमा ७० देखि ९० वटा स्टलहरु लगाइएको छ । प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहनाहरु, बाँसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तुहरु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, उनी तथा सुर्तीजन्य वस्तु, हाते कागजजन्य वस्तुहरु राखिएको छ ।
यस मेलाको आयोजनामा करिब २० लाख खर्च हुने उपाध्यक्ष सनमले बताए । यस मेलामा २५ हजार आगन्तुकहरु आउने अनुमान गरिएको छ ।