एजेन्सी, १२ कार्तिक । सर्बियाको बेलग्रेडमा जारी आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको चुनौती सकिएको छ ।

बिहीबार राति भएका खेलमा पराजित भई नेपालका दुई खेलाडी बाहिरिएसँगै नेपालको चुनौती सकिएको हो ।

नेपाली मुक्केबाज सनिल शाही ६७ केजी तौल समूहको अन्तिमा ३२ मा सर्बियाका अब्बासोभ भाखिदसँग ५–० अंकले पराजित भए ।

च्याम्पियनसिपको दोस्रो चरणमा पुग्ने उनी एक्ला नेपाली खेलाडी हुन् । यस्तै ५७ केजीमा प्रतिस्पर्धा गरेका पुरन राई पहिलो खेलमै पराजित भए । उनी मेक्सिकोका मिगुएलसँग ५–० ले नै पराजित भएका हुन् ।

प्रतियोगितामा नेपालकोतर्फबाट सनिल र पुरनसँगै भुपेन्द्र थापामगरले ६३.५ तथा रविन थापाले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।