एजेन्सी, १२ कार्तिक । आइसिसी टि–२० विश्वकप अन्तर्गत सुपर १२ अन्तर्गत शुक्रबार २ खेल हुँदैछन् । समूह ‘१’ को खेलमा वेस्ट इन्डिज र बङ्गलादेश प्रतिस्पर्धा गर्दैछन् ।

एक अर्काविरुद्ध मैदान उत्रिदा दुवै टोलीको लक्ष्य जित निकाल्नु हुनेछ । यसअघिका दुवै खेल हारेका उनीहरुलाई सेमिफाइनलको सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दबाब छ ।

वेस्ट इन्डिजले पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ६ तथा दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ८ विकेटको पराजय बेहोरेको थियो। बङ्गलादेश पहिलो खेलमा श्रीलङ्कसँग ५ तथा दोस्रो खेलमा इङ्ग्ल्यान्डसँग ८ विकेटले हारेको थियो ।

यसअघि टि–२० विश्वकपमा यी दुईले २ खेलमा एक अर्काको सामना गरेका छन् । जसमा बङ्लादेश र वेस्ट इन्डिजले १–१ खेल आफ्नो पक्षमा पारेका छन् । सन् २००७ को विश्वकपमा बङ्गलादेश ६ विकेटले विजयी हुँदा २०१४ मा वेस्ट इन्डिजले ७३ रनको जित हात पारेको थियो ।

समूह ‘२’ अन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसरा राति पौने ८ बजे हुने खेलमा पाकिस्तानले अफगानिस्ताको सामना गर्नेछ । एक अर्काविरुद्ध मैदान उत्रिदा पाकिस्तान लगातार तेस्रो तथा अफगानिस्तान दोस्रो जितको खोजिमा हुनेछन् ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० र दोस्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्दा अफगानिस्तानले स्कटल्यान्डमाथि १३० रनको जित हात पारेको थियो ।