स्वास्थ्य क्षेत्र सुधारका लागि नीतिगत रुपमा आमूल परिवर्तनको आवश्यकताः प्रचण्ड

काठमाडौं, १२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्र सुधारका लागि नीतिगत रुपमा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा प्रचण्ड’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको बताए ।
उनले भने, ‘राजनीतिक परिवर्तन हुन्छ, ऐन, नीति परम्परा बदलिँदैन, संविधानअनुसार ऐन छैन ।’
संविधानमा समाजवाद उन्मुख राज्य भने पनि व्यवहारमा त्यो लागू गर्न नसकिएको बताए । उनले भने, ‘संविधान र राजनीतिक दस्तावेजमा राम्रा कुरा लेखिए, तर व्यवहारमा आएनन् ।’
आफूहरुले देखेको सपना स्वास्थ्य र शिक्षा राज्यको दायित्वभित्र पर्ने विषय भएको जनाउँदै उनले स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा लिएर पनि ठोसरूपमा प्रगति हुन नसकेको बताए ।