बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार नाघ्यो

एजेन्सी, ११ कार्तिक । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार नाघेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप २०७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ लाख ४० हजार ४१ पुगेको हो । तर, कोरोनाबाट मृत्यु भएको मृत्यु दर्ताको आधारमा भने मृतक संख्या १ लाख ६३ हजार भन्दा बढी भएको तथ्यांक छ ।
अघिल्लो दिन २६३ जना संक्रमितको मृत्यु भएको थियो जुन, ८ महिनापछिकै सबैभन्दा बढी हो । मृत्यु हुनेको संख्या पछिल्लो दुई दिन लगातार दुई सय भन्दा बढी रहँदै आएको छ । यसैगरी बितेको २४ घण्टामा थप ४३ हजार ९४१ जना नयाँ संक्रमित थपिएका छन् ।
यससँगै बेलायतमा कुल संक्रमितको संख्या ८८ लाख ९७ हजार १४९ पुगेको छ । विगत केहि हप्तायता दैनिक संक्रमितको संख्या ४० हजारमाथि रहँदै आएको छ ।
संक्रमित संख्यामा भएको वृद्धिसँगै अस्पताल भर्ना भएका संक्रमितको संख्या पनि सामान्य रुपमा बढेको छ । पछिल्लो २४ घण्टामा ८९४ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ८ हजार ८०१ पुगेको छ । यस्तै ९५० जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।