क्रिस मोरिसले राष्ट्रिय क्रिकेट टिमबाट नखेल्ने

एजेन्सी, ११ कार्तिक । दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले आगामी दिनमा आफू राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने सम्भावना नरहेको बताएका छन् ।
दक्षिण अफ्रिकाले उनलाई आईसीसी टी–ट्वान्टी विश्वकप टोलीमा समावेश नगर्नु र उनको यो प्रकारको अभिव्यक्तिले उनी सन्यासको नजिक पुगेको अनुमान गरिएको छ ।
३४ वर्षीय मोरिसले दक्षिण अफ्रिका क्रिकेट संघलाई समेत आफूले राष्ट्रिय टोलीबाट नखेल्नेबारे जानकारी गराएका छन् ।
‘दक्षिण अफ्रिकाका लागि खेल्ने मेरा दिनहरू समाप्त भएको छ । म आधिकारीक रुपमा सन्यासको घोषणा गर्ने खालको होइन । उनीहरुलाई थाहा छ म कहाँ उभिएको छु र मलाई पनि थाहा छ म कहाँ छु भनेर,’ मोरिसले भने ।
मोरिसले आधिकारिक रूपमा सन्यासको घोषणा नगर्ने तर आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको समय सकिएको बताएका हुन् । उनले घरेलु क्रिकेट तथा टी–ट्वान्टी लिगमा भने ध्यान दिने जनाए ।
सन् २०१२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका मोरिसले दक्षिण अफ्रिकाका लागि ४२ एकदिवसीय, २३ टी–ट्वान्टी र चार टेस्ट खेलेका छन् ।