जनकपुरधाम, ११ कार्तिक । प्रहरीले महोत्तरीबाट नक्कली नोट सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका वडा नम्बर–९ डुबरबन्ना बस्ने तरकारी व्यापारी सुकन महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिए ।

बिहीबार विहान महतोलाई गौशाला बजारबाट ८ लाख ९७ हजार ४३५ नेपाली र २ लाख ८० हजार ९२९ भारतीय रुपैयाँ सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना बाहिरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रहरीले महतोको गौशालास्थित डेरामा खानतलाशी गर्दा रकम फेला परेको प्रहरी निरीक्षक वस्यालले बताए ।