सञ्चार मन्त्रालय मातहतका कार्यालयका पदाधिकारीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्छ: मन्त्री साह

जनकपुरधाम, ११ कार्तिक । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले सञ्चार मन्त्रालय मातहतका कार्यालयहरुको पदाधिकारीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
बिहीबार जनकपुरधाममा आयोजित प्रेस सेन्टर नेपाल धनुषाको जिल्ला अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री साहले सम्बन्धित मन्त्रालयको मन्त्री फेरिएपछि मन्त्रीद्वारा नियुक्त पदाधिकारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा जोड दिएका हुन् ।
उनले भने,‘आफ्नो मातहतको मन्त्रालयमा मन्त्री फेरिदा पनि पूर्वमन्त्रीले नियुक्त गरेका पदाधिकारीले नैतिकताको आधारमा राजीनामा दिँदा उपयुक्त हुन्थ्यो । मैले पदिधिकारीसँग स्पष्टिकरण सोध्दा उल्टै तिनीहरु अदालत पुग्नु दुःखद छ ।’
‘सरकार अथवा मन्त्री फेरिदा सो मन्त्रीले नियुक्त गरेका पदाधिकारीले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुन्छ । तर, मैले तिनीहरु राम्रोसँग काम नगर्दा किन नहटाउने भनेर स्पष्टिकरण सोध्दा उल्टै अदालत पुगेर स्टे अर्डर ल्याएका छन्,‘उनले भने ।’
मिडिया काउन्सिल लगायत सञ्चारकमीसँग सम्बन्धित संस्थाहरुमा पत्रकारको क्षमता, हैसियत अनुसार नभई चोरबाटोबाट कनिष्टहरुलाई भर्ना गरिएकोले त्यसलाई सुधार गर्न तथा पत्रकारीता क्षेत्रलाई व्यवस्थि बनाउन आफुले काम थालेको मन्त्री साहले बताए ।
अर्को प्रसङ्गमा बोल्दै मन्त्री साहले प्रदेश २ को राजधानी जनकपुरधाम नै रहने भन्ने सवालमा सबै दल स्पष्ट रहेकोले कुनैपनि हालतमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै बन्ने बताए । उनले नामाकरणमा भने दलहरुबिच धेरै सकस रहेको जिकिर गरे ।
अहिले ३ दलको गठबन्धनको रहेको प्रदेश २ सरकारमा नेकपा (एस) पनि चाँडै सहभागी हुने मन्त्री साहले स्पष्ट गरे ।