काठमाडौं, १० कार्तिक । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थप दुई वर्ष नेपाली टिमको प्रशिक्षक बन्ने घोषणा गरेका छन् ।

‘कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरूसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग २ वर्षका लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । मलाई नेपाल फर्काउन सहयोग र सबै कुरा गरेकोमा कतार फुटबल संघलाई धन्यवाद,’ अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपपछि उनी नेपाल नआई कुवेत गएका थिए । उनले त्यतिबेला नेपाल राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नबन्ने र नेपाल नजाने घोषणा गरेका थिए । त्यसपछि उनलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङले भेटेका थिए ।

‘नयाँ मिसनमा सफलताको कामना गर्दछु । हामी हाम्रो लक्ष्य र आगामी २ वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौं । मेरो वाचा छ– हामीलाई समय दिनुहोस् नेपाली फुटबलको भविष्य राम्रो हुनेछ ।’

नेपालीहरुले देखाएको माया अरू कुराहरू भन्दा धेरै महत्त्वपूर्ण रहेको जनाउँदै उनले आफूलाई सधैं हृदयमा राख्न आग्रह गरेका छन् । ‘मलाई मात्र हैन नेपाली फ्यानहरुको साथ र माया नेपाली खेलाडीहरूलाई पनि चाहिन्छ । त्यसैले हामीलाई समर्थन गर्नुहोस्, हामीलाई विश्वास गर्नुहोस् र हामीलाई माया गर्नुहोस्,’ उनले भनेका छन् ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल हालै सम्पन्न साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलसम्म पुगेको थियो ।