ठगी गरेको आरोपमा नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक पक्राउ

काठमाडौं, १० कार्तिक । पैसा नै नभएको खाताको चेक दिएर ठगी गरेको आरोपमा नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्व इन्सपेक्टर खिलबहादुर केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
केसीले आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर ठगी गरेको आरोप छ । पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले उनीविरुद्ध बैंकिङ कसुरको उजुरी गरेका छन् ।
प्रहरी उपरीक्षक बस्नेतले प्रारम्भिक अनुसन्धानबाट केसीले ५ करोडभन्दा बढी ठगेको देखिएको बताए । केसीले सञ्जय अधिकारीलाई मात्र ४ करोड रकम तिर्नुपर्ने देखिएको छ ।
केसीलाई बानेश्वरबाट पक्राउ गरेर थप अनुसन्धान थालिएको बताइएको छ ।