जनकपुरधाम, १० कार्तिक । सिरहामा माटो खन्न गएकी एक बालिकाको ढिस्कोमा पुरिएर मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

ढिस्कोमा पुरिएर मृत्यु जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर–५ बस्ने प्रकाश कामतकी ११ वर्षीया छोरी करिश्मा कुमारी कामत रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

तिहार नजिकिएसँगै बुधबार विहान करिब साढे ८ बजेको समयमा धनगढीमाई नगरपालिका–६ मा माटो खन्न उनीहरुको समूह नै गएको थियो । सोही क्रममा ढिस्कोमा पुरिएर करिश्माको मृत्यु भएको र अन्य ६ जना घाइते भएको डीएसपी बुढाथोकीले बताए ।

घाइते हुनेहरुमा ३० वर्षीया ममता कामत, ७ वर्षीया सरिता महतो, ७ वर्षीया सबिता यादव, १० वर्षीया नेहा कुमारी कामत, ११ वर्षीया रुबि कुमारी कामत र २५ वर्षीया सितादेवी कामत रहेकी छन् ।

घाइते मध्ये सबितालाई थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।