ओलीले अदालतको बारेमा गैरजिम्मेवार अभिव्यक्ति दिएको देउवाको आरोप

काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोशित हुँदै देउवाले परमादेशको सवाललाई उठाएर ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए ।
नेपाल तरुण दलले बुधबार बालुवाटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरूबारे सत्तारूढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि स्पष्ट पारे ।
प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क समेत गरे । देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको दावी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए ।
उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान पनि गरे ।