एजेन्सी, १० कार्तिक । टि–२० विश्वकप क्रिकेटमा भारतलाई पाकिस्तानले हराएकोमा खुसी व्यक्त गर्ने एक शिक्षिकालाई जागिरबाट निकालिएको छ ।

राजस्थानको उदयपुरकी ती शिक्षिकालाई निष्कासन गरेर उनीविरुद्ध एफआईआर दर्ज गरिएको छ । यस्तै जोधपुरमा दुई युवकमाथि पनि एफआईआर दर्ज भएपछि पक्राउ गरिएको छ ।

उदयपुरको एक निजी स्कुलकी शिक्षिकाले ह्वाट्सएपमा पाकिस्तानी खेलाडीको तस्बिर राख्दै ‘जित्यो, वि वन’ लेखेकी थिइन् । स्कुलका एक विद्यार्थीका बाबुले शिक्षिकाको स्टाटस देखे र उनले शिक्षिकालाई पाकिस्तानको समर्थन गरेको हो ? भनेर सोधे ।

ती शिक्षिकाले उत्तर दिइन्–‘हो’ । शिक्षिका नसिता अटारीको सोही च्याट र स्टाटस स्क्रिनशट एक स्थानीय च्यानललाई उपलब्ध गराएपछि एफआईआर दर्ज भएको हो ।

त्यसलगत्तै स्कुलले उनलाई जागिरबाट निष्काशन गरेको थियो । स्कुलबाट जारी पत्रमा भनिएको छ, ‘नीरजा मोदी स्कुलकी शिक्षिका नसिफा अटारीलाई सोजतिया च्यारिटेबल ट्रस्टको बैठकको निर्णयअनुसार तत्काल स्कुलबाट निष्काशित गरिएको छ ।’