५ देखि ११ वर्षका बालबालिकालाई फाइजरको खोप लगाउन अनुमति

एजेन्सी, १० कार्तिक । अमेरिकी सरकारको एक समितिले ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउनका लागि फाइजरको पक्षमा आफ्नो निर्णय दिएको छ ।
अमेरिकी नियामक निकाय एफडीए (फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन) ले यो निर्णयको समर्थन गरेको छ । अब बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको स्वीकृति आवश्यक छ ।
२ नोभेम्बरसम्ममा यस विषयमा पनि निर्णय आउने विश्वास गरिएको छ । स्वीकृति पाएको भोलिपल्टदेखि बालबालिकालाई खोप लगाउन सुरु गरिनेछ ।
अमेरिकामा यसअघिदेखि नै ५–१२ वर्षका बालबालिकालाई खोप दिइरहेको छ । सेप्टेम्बरमा कम्पनीले परीक्षणबाट बच्चाका लागि खोप सुरक्षित रहेको पत्ता लागेको उल्लेख गरेको थियो । फाइजरको खोपलाई १२ वर्षमाथिका किशोर किशोरीलाई लगाउन यसअघि नै मान्यता प्राप्त भइसकेको छ ।
सोमबार मोडेर्नाले पनि आफ्नो खोप बालबालिकामा एन्टीबडी विकसित गर्न सक्षम रहेको र परीक्षणको तथ्यांक नियामक निकायमा प्रस्तुत गरिने जनाएको थियो ।