धनुषाको ३५ वडामा एमालेको अधिवेशन अझै बाँकी, दुई पालिकामा नगर अधिवेशन जारी

जनकपुरधाम, ९ कार्तिक । धनुषाका १८ पालिका मध्ये १६ पालिकाका केही वडामा विवाद देखिएपछि नेकपा एमालेको वडा अधिवेशन सम्पन्न हुन सकेको छैन् । वडा अधिवेशन हुन नसक्दा नगर अधिवेशन समेत अन्योलमा परेको छ ।
धनुषा जिल्लाका ३५ वडामा वडा अधिवेशन अझै बाँकी रहेको नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।
अधिकांश पालिकाको केही वडामा कार्यकर्ताहरु बीच आपसी विवाद रहेकोले समयमै वडा अधिवेशन हुन नसकेको उनले बताए । उनले केहि वडामा अधिवेशन हुन बाँकी रहेको र केहि वडामा पार्टीले नै अधिवेशन गराउन नसकेको जानकारी दिए ।
जनकपुरधाम उपमहानगरका २५ वटा वडामध्ये ८ वटा वडामा वडा अधिवेशन हुन नसकेको नेकपा एमाले जनकपुरधाम नगर समितिका अध्यक्ष श्याम पूर्वेले बताए । उनले उपमहानगरको केहि वडामा अधिवेशन हुन बाँकी रहेकोले नगर अधिवेशन पनि हुन नसकेको बताए ।
जनकपुरधाम उपमहानगरको १७ वडामा अधिवेशन सम्पन्न भएपनि ८ वटा वडामा विभिन्न विवादका कारण अधिवेशन हुन नसकेको नेकपा एमालेका प्रदेश सदस्य शिवशंकर साह हिराले बताए । उनले बाँकी रहेका वडाहरुमा सहमति गराउने प्रयास भईरहेको बताउँदै एक साता भित्र जनकपुरधामको नगर अधिवेशन पनि सम्पन्न गर्ने तयारी रहेको दावी गरे ।
यता, धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा वडा अधिवेशन सकाएर नगर अधिवेशन जारी रहेको छ । यी दुबै पालिकाको अधिवेशन बुधबारसम्म नेतृत्व चयन गर्दै समाप्त हुने बताइएको छ ।